काठमाडौं, असार २८ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी गरिएको हो। ओली–नेपालबीच १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अनुमोदनलगायतका थप विवाद निरुपणका लागि भेटवार्ता हुन लागेको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए। ‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं,’ नेता नेम्वाङ्गले भने— ‘उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुङ्गो लागेको छैन। तर, भेट चाहिँ गर्नुहुन्छ।’
गत २१ असारदेखि २७ गतेसम्म निरन्तर बसेको कार्यदलको बैठकले १० बुँदे प्रस्ताव तयार गरेको थियो। उक्त प्रस्ताव शीर्ष नेताद्वय ओली–नेपाललाई बुझाउने तयारी कार्यदलले गरेको छ। १४ घण्टासम्म बसेको कार्यदलको बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भनेका थिए— ‘अब यो प्रस्ताव शीर्ष नेतृत्वलाई बुझाउँछौँ।’ प्रस्ताव अनुमोदनका लागि एमाले स्थायी कमिटी बैठक मंगलबार बस्दैछ।
नेता नेपालले भने कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न नमिल्ने बताइरहेका छन्। खासगरी १० बुँदे प्रस्तावका विषयमा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेको विषयमा थप चिढिएका नेता नेपालले प्रस्तावले कुनै पनि हालतमा सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्न नहुने बताइरहेका छन्।
एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा आइतबार कार्यदलका सदस्यहरू पुगेका थिए। सर्वोच्चको फैसलाअघि संस्थापन पक्षसँग कुनै खालको सहमति गर्न तयार नरहेका नेपालले असन्तुष्टि व्यक्त गरेका छन्।


























