काठमाडौं, असार २१ । एमाले विवाद समाधानका लागि गठन गरिएको कार्यदल फेरि ब्युँतिएको छ। फेरि ब्युँतिएको कार्यदलको बैठक अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ। बैठकमा कार्यदलमा रहेका एमाले उपमहासचिव विष्णु पौडेलबाहेकका अन्य नेताहरुका बिचमा छलफल शुरु भएको हो।
छलफलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त र घनश्याम भुसाल सहभागी छन्। गत जेठ २ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बिचमा भएको सहमतिपछि कार्यदल गठन भएको थियो।
कार्यदल बैठक चलिरहेकै बेला नेपाल समूहका २३ जना विघटित प्रतिनिधिसभा सदस्यले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेपछि बैठक नै भाँडिएको थियो। आइतबार राति एमाले अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलका बिचमा भएको करिब २ घण्टा लामो छलफलपछि कार्यदल ब्युताँउने सहमति जुटेको थियो।


























