काठमाडौं, असार १६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीसँगको साठगाँठमा सरकारलाई बदनाम गर्ने खेल भएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कब्जा गर्ने र विरोधीसँगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका हुन्।
उनले विकासको काममा जुटेको प्रधानमन्त्रीको राजीनामा माग गरेपछि मुलुक अस्थिरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गरे।
ओलीले पार्टीभित्रको एकतालाई जोगाउन अधिकतम लचकता अपनाए पनि अर्को पक्षले त्यसलाई आफू अनुकुल प्रयोग मात्र गरेको तर्क गरे । एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिइएको उनले बताए।
प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले विकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हुँदा जनतामा निराशा छाउनु स्वभाविक भएको धारणा राखे।
उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर देखाएको र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाएको दाबी गरे।


























