असार १५ । साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो।
रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मार्यो।
पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे। तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके। एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए। स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे।
पेनाल्टीमा जानु अघि खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले बनाएको थियो। खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई १-० गोलको अग्रता दिलाएका थिए। उनले स्टेभन जुबरको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरे।
खेलको ५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा गोल गर्ने अवसर पायो। तर, स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न सकेनन्। उनको पेनाल्टी प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाए।
लगत्तै ५७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए। एमबाप्पेको पासमा उनले सहजै गोल गरे। खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २-१ को अग्रता बनायो। उनले एन्टोनियो ग्रीजम्यानको पासमा हेड मार्फत गोल गरे।
खेलको ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१ गोलको अग्रता दिलाए। पोग्बाले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। खेलको ८१ औं मिनेटमा केभिनको पासमा स्विट्जरल्यान्डका सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए।
त्यसपछि खेलको ९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो। र, खेल अतिरिक्त समयमा गएको थियो। शाकिरीको स्थानमा ७४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले कप्तान ग्रानिटको पासमा गोल गरे।
यससँगै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ। विश्व विजेता फ्रान्स भने राउण्ड अफ १६ बाट बाहिरिएको छ। स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। यस अघि स्विट्जरल्यान्ड १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो।
अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम आठमा प्रवेश गरिसकेको छ।
यस अघि फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। स्विट्जरल्यान्डले समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा स्थान बनाएको हो। एजेन्सी


























