पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ ।
लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन्।
इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो। इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो।
समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो। समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गरेको थियो।
जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो। जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो।
समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा जर्मनीले हंगेरीसँग २-२ गोलको बराबरी खेलेको थियो।
युरोकपमा इंग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिड्न लागेका हुन्। यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जित निकालेका थिए। वेम्बलीमा दुई टिमबीचको १३ औं भेट हुनेछ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति पौने १ बजे सुरु हुनेछ। दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।
स्विडेन समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विडेनले ३ खेलमा ७ अंक जोडेको थियो।
समूह चरणको पहिलो खेलमा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा स्लोभाकियालाई १-० ले हराएको स्विडेनले तेस्रो खेलमा पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।
युक्रेन समूह ‘सी’ बाट नकआउट चरणमा पुगेको हो। समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो। युक्रेनले ३ खेलमा ३ अंक जोड्यो।
पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई २-१ ले हराएको युक्रेन समूह चरणको अन्तिम खेलमा अष्ट्रियासँग १-० ले पराजित भएको थियो।
स्विडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको चार खेलमा स्विडेनले २ हार व्यहोरेको छ। यस्तै एक जित र एक बराबरी खेलेको छ।


























