काठमाडौं, असार ४ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ। एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै निर्वाचन आयोगले जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आयोग पुगेको हो।
अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन्।केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा मतभेद भएपछि जसपा विभाजन उन्मुख भएको थियो। यसअघि जसपाको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई पार्टीबाट निस्कासन गरेको थियो। ठाकुर पक्षले पनि यादवलाई निस्कासन गरेको थियो। आयोगको निर्णय विरुद्ध कानूनी उपचारमा जाने यादव पक्षले निश्कर्ष निकालेको थियो।


























