काठमाडौं, असार ४ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ। १४ औं महाधिवेशनका सन्दर्भमा बिहीबारदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
विहिबारको बैठकले महाधिवेशनको तालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरेको छ। यसअघि पदाधिकारी बैठकले क्रियाशील सदस्यताको सम्पूर्ण कार्यको टुंगो असार २० सम्ममा लगाउने भनेकोमा त्यसलाई बढाएर असार मसान्तसम्म समय दिइएको छ। पदाधिकारी बैठकले प्रस्ताव गरेका तल्ला तहको अधिवेशन तालिकालाई सामान्य संशोधन गरिएको छ।
महाधिवेशनको मिति भने भदौ १६ देखि १९ नै कायम छ। केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको तालिकाअनुसार गाउँ वडा अधिवेशन आगामी साउन १२ गते हुनेछ।
गाउँ, नगरपालिका साउन १६, प्रदेश क्षेत्रीय साउन २०, प्रतिनिधिसभा क्षेत्रीय (एक निर्वाचन क्षेत्र भएको जिल्लाको समेत) साउन २३, दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुनेछन्।
बैठकमा कोरोना महामारीका बीच उक्त अधिवेशन कसरी सम्पन्न गर्नेबारे बहस भइरहेको छ। विहीबार १२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। बैठकमा बिहीबारको बैठकमा बोलेका अधिकांश नेताले विपक्षी गठबन्धन कसिलो बनाउँदै लग्नुपर्नेमा जोड दिएका थिए। विपक्षी गठबन्धनले निरन्तरता दिनु अहिलको आवश्यकता भएको नेताहरुको भनाइ थियो। नेताहरुले बोल्न क्रम नसकिएपछि आज पनि बैठक बस्न लागेको हो।


























