असार १ । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछ।
युरोकपमा आज समूह ‘एफ’ को दुई खेलहरु संचालन हुँदैछ। पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ। पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल राति पौने १० बजे सुरु हुनेछ।
पुस्कास एरिनामा मैदान उत्रदा पोर्चुगल सुखद सुरुवात गर्ने योजनामा हुनेछ। तर, घरेलु टिम हंगेरीलाई हराउँन पोर्चुगललाई सहज भने हुने छैन। मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो।
आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ। फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ। खेल राति पौने १ बजे सुरु हुनेछ। घरेलु टिमविरुद्ध मैदान उत्रदा फ्रान्स जित निकाल्ने योजनामा हुनेछ। विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ।
तर, जर्मनीविरुद्ध उसैको मैदानमा जित निकाल्न फ्रान्सलाई सहज भने हुने छैन। जर्मनी पनि फ्रान्सलाई हराएर सानदार सुरुवात गर्न चाहन्छ। फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुबै टोलीले २/२ खेल जितेको छ। दुई खेल भने बराबरीमा सकिएको छ। एजेन्सी


























