जेठ ३१ । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो।
स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे। खेलको २३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको २६ औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहदा गोलले मान्यता पाएन। खेलको ६४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए।
डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो। जसमा नेयमारले सहजै गोल गरे। ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो। पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि रहेका छन्।
त्यसपछि खेलको ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए। उनले नेयमारको पासमा गोल गरेका हुन्।
यस जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ। भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। भेनेजुएला समूहको पुछारमा रहेको छ। एजेन्सी


























