जेठ ३१ । अष्ट्रियाले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ। रोमानियाको बुचारिस्टमा आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै अष्ट्रियाले सुखद सुरुवात गरेको हो।
अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक एक गोल गरे। म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए।
खेलको १८ औं मिनेटमा स्टेफानले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए। मार्सेलको पासमा उनले गोल गरेका थिए।
तर,२८ औं मिनेटमा गोरानले गोल गर्दै म्यासेडोनियालाई १-१ गोलको बराबरीमा फर्काए। उनले अष्ट्रियाका गोलकिपर डानिलले फुत्काएको बलमा गोल गरेका थिए।
यससँगै गोरान युरोकपमा गोल गर्ने दोस्रो सर्वाधिक बढी उमेरका खेलाडी बनेका छन्। उनले ३७ वर्ष २२१ दिनमा गोल गरेका हुन्। म्यासेडोनियाको यो युरोकपमा गरेको पहिलो गोल समेत हो।
खेलको ७८ औं मिनेटमा माइकलले गोल गर्दै अष्ट्रियालाई २-१ को अग्रता दिलाए। उनले कप्तान डेभिड अल्बाको पासमा गोल गरेका हुन्। त्यसपछि खेलको ९० औं मिनेटमा लेइमरको पासमा मार्कोले गोल गर्दै अष्ट्रियालाई ३-१ को जित दिलाए।
युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो ऐतिहासिक पहिलो जित हो। यस अघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन।
यस जितसँगै समूह ‘सी’ को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ। अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ। म्यासेडोनियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। एजेन्सी


























