जेठ ३१ । नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले सुखद सुरुवात गरेको हो।
आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे।युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए।
दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए। खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो।
तर, खेलको ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-२ को जित दिलाए। उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो।
यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ। नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ। ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ।
युक्रेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। युक्रेन तेस्रो स्थानमा रहेको छ। एजेन्सी


























