काठमाडौं, जेठ ३० । फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश आईपुग्ने भएका छन्।
छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टिम आइतबार स्वदेश आईपुग्ने भएका हुन्। नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छन्।
छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो। नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो। यस्तै जोर्डनसँग ३–० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३–० गोल अन्तरलेनै पराजित भएको थियो।
छनोटको खेल अघि नेपाली टिमले इराकसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो। मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो।
छनोटको समूह बीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो। नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ।
नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना यस अघि नै सकिएको थियो। तर, नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ।


























