जेठ २९ । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न तीन खेलहरु हुँदैछ।
युरोकपमा आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ दुई खेल हुनेछ। आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। वेल्स र स्विजरल्याण्ड दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्।
यस समूहमा इटालीले विजयी सुरुवात गरिसकेको छ। उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको हो।
यस्तै समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ। डेनमार्क र फिनल्याण्डबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ।
रुसमा हुने दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ। फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम रुसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ।रुस पनि घरेलु मैदानमा बेल्जियमलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ। एजेन्सी


























