जेठ २९ । इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो।
रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे। इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो।
डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए। युरोकपको इतिहासमा पहिलो पटक पहिलो गोल आत्मघाती गोल भएको हो।
६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २-० गोलको अग्रता दिलाए। त्यसपछि खेलको ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३-० गोलको जित दिलाए।
यस जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ। टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। टर्की पुछारमा रहेको छ।
युरोकप अन्तर्गत आज (शनिबार) तीन खेलहरु हुनेछ। यस पटकको युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। एजेन्सी


























