काठमाडौं, जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।
एमाले नेता माधवकुमार नेपालसँगको छलफल सकेर प्रचण्ड देउवा निवास पुगेका हुन्। प्रचण्ड र नेपालबीच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो।
प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि नेता नेपाल छलफलमा जुटेका हुन्।
ओलीको प्रस्तावमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने, त्यसका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता हुनु पर्ने शर्त राखिएको छ। तर नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने संकेत गरेको छ।
नेपाल पक्षलाई फकाउने ओलीको प्रयाससँगै विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगै प्रचण्ड र देउवा छलफलमा सक्रिय भएका हुन्।


























