काठमाडौं, जेठ २१ । सर्वोच्च अदालतको ‘फुट कोर्ट’ अर्थात न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० जना न्यायाधीश नै सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाएकाहुन्।
बैठकमा कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल हुने सूचनामा उल्लेख छ। तर विविध शीर्षकको एजेण्डा पनि राखिएकाले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्नेगरी नियमावली संशोधनको विषयमा पनि छलफल हुन सक्ने अनुमान छ। प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ नै रोकिएको छ।
न्यायाधीशद्वय श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्न मान्नुभएको छैन भने उहाँहरुकै कारण देखाउँदै दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेकाछन्। संवैधानिक इजलासको विषयमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियमावली संशोधन गरेर नयाँ इजलास तोक्ने वचन दिएका थिए।


























