जेठ १७ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन्। समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन्।
जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले नेताहरु तानातानमा नपरी आ-आफ्नो बाटो लागौँ भन्दै पार्टी विभाजनकै प्रस्ताव गरेका हुन्। अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति भएको भन्दै उनले समयले नयाँ ध्रुविकरण खोजेको ट्वीटमा उल्लेख गरेका छन्।
‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो। नयाँ निर्माणका निम्ति पुरानो भत्कनैपर्छ।’ उनले ट्वीटमा भनेका छन्, ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ। अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं। भेडा भेडासँग र बाख्रा बाख्रा सँग हुन दिऊँ। हात मिलाएर आ आफ्नो बाटो लागौं। हिडिरहे फेरि भेट हुनेछ।’


























