जेठ १६ । भारतको उत्तर प्रदेशको अलीगढ जिल्लामा विषाक्त मदिरा सेवनका कारण २२ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यम द वायरले विषालु मदिराका कारण २२ जनाको मृत्यु भएको र २८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ। गम्भीर बिरामी भएकाहरुलाई उपचारका लागि जवाहरलाल नेहरु मेडिकल कलेज र मलखानसिंह जिल्ला अस्पताल भर्ना गरिएको छ।
अलीगढ जिल्लाका प्रहरी अधिकृत एसएसपी कलानिधि नैथानेले नक्कली विषालु मदिरा बेच्ने व्यापारी अनिल चौधरीसमेत पाँच जनालाई पक्राउ गरेको बताएका छन्।
प्रहरीले विभिन्न तीन मामिलामा १२ जनालाई नियन्त्रणमा लिई अध्ययन अनुसन्धान गरिरहेको नैथानीले जनाएका छन्। प्रहरीले मदिरा व्यापारी अनिल चौधरीसँग निकट सम्बन्ध भएका ऋषि शर्मा र विपिन यादवलाई खोज्ने काम जारी राख्दै उनीहरुबारे सूचना दिनेलाई ५०/५० हजार पुरस्कार दिने घोषणा गरेको छ।
विषालु मदिराबाट कसैको ज्यान नजाओस् भन्दै प्रहरीले जिल्लाका पाँच मदिरा पसल सिल गर्दै अन्य मदिरा पसलको मदिरा परीक्षण गरेको छ। विषालु मदिरा सेवनबाट ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने जिल्लाका अधिकारीले बताएका छन्। एजेन्सी


























