कास्की, जेठ १६ । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज आइतबारबाट सुरु हुँदैछ। असार १ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको बजेट अधिवेशन सुरु हुन लागेको हो। सरकारले आगामी आवको प्रिबजेट सोमबार पेश गर्ने तयारी गरेको छ।
आइतबार अधिवेशनको पहिलो दिन संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेट अधिवेशनबाट विश्वासको मत लिनेछन्। २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत लिने भएका हुन्।
गण्डकी सरकारले बजेटका सिद्धान्त र प्राथमिकताका बिषयमा छलफल गरिसकेपछि मात्रै विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार तथा कानुन मन्त्री रामशरण बस्नेतले जानकारी दिए। ‘हामीले जसरी पनि असार १ गते बजेट ल्याउनु पर्ने हुन्छ। तसर्थ पहिलो प्राथमिकता त्यसका लागि दिन्छौँ, दिनु आवश्यक छ। तसर्थ १७ गते प्रदेश सभा बैठकमा विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेपछि मात्रै विश्वासको मत लिने तर्फ जानेछौँ’, मन्त्री बस्नेतले भने।


























