जेठ १५ । आउँदो आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यस वर्ष मन्त्रालयलाई बजेट बढाइएको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमा जानकारी दिए। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको र कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थ मन्त्री पौडेलले जानकारी दिए। यस्तै सरकारले सबै पालिकामा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्न सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ। चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो। संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो।


























