काठमाडौं, जेठ ११ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार राति भेट नगरेको दाबी गरेको छ। दुई निकायका प्रमुखबीच गोप्य रुपमा भेटवार्ता भएको भन्दै केही सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेपछि सर्वोच्चले त्यसको खण्डन गरेको हो।
सोमबार नै प्रतिनिधिसभा विघटनविरुद्ध २४ वटा रिट निवेदन परेको अवस्थामा राति ११ बजे ओली राणाबीच भेटवार्ता भएको दाबी गरिएको थियो। त्यसलाई सर्वोच्चले अस्वीकार गर्दै भ्रामक समाचार नलेख्न आग्रह गरेको छ।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्तिमार्फत भनेका छन्, ‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यस प्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो।’
सर्वोच्चले न्याय सम्पादनको कार्यलाई विवादित नबनाउन पनि आग्रह गरेको छ। ‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्यायसम्पादनको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्य अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् अवस्था हो, सर्वोच्चले अगाडि भनेको छ, ‘यस प्रकारका कार्यहरु संविधान, कानून र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकुल हुने हुँदा कानूनी दायरामा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौं। साथै यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं।’
न्यायालय स्वतन्त्र हुनुपर्नेमा अदालत र सत्ताबीच साँठगाँठ तीव्र रुपमा भइरहेको आरोप लागेका बेला प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री ओलीसँग रातमा भेटघाट गरेको दाबी आएको हो। उनीहरुबीच सवा एक घण्टा छलफल भएको दाबी गरिएको थियो।


























