काठमाडौं, जेठ ११ । प्रतिनिधिसभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गरेका छन्। मंगलबार संसद भवन बानेश्वरमा सापकोटाले पूर्वसभामुखहरुलाई आमन्त्रण गरेर विघटनपछिको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भन्नेबारे परामर्श गरेका हुन्।
छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरा सहभागी भएका छन्। दुई जना पूर्वसभामुखहरु दमननाथ ढुंगाना र सुवास नेम्वाङले भने सभामुखको निम्तोलाई अस्वीकार गरेका छन्।
नेम्वाङले आफ्नो पूर्वनिर्धारित अर्को कार्यक्रम भएकाले आउन नसक्ने खबर पठाएको सभामुखको सचिवालयले जनानकारी दियो भने ढुंगानाले सहभागिता जनाउने बताए पनि उपस्थित नभएका हुन्।
नेम्वाङ पछिल्लो संसद विघटन गर्न ओलीलाई सहयोग गर्नेमध्ये एक मानिन्छन्। रानाभाटले जुममार्फत पोखराबाट संसद विघटनप्रति आफ्नो धारणा राखेका छन्। उपस्थित चारैजना पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन गर्ने कार्य अलोकतन्त्रिक र जनमतको अपमान भएको धारणा राखेका छन्। उनीहरुले विघटनप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जननिर्वाचत संस्था देख्नै नसक्ने’ रोग लागेको आरोप लगाएका छन्। उनले भने, ‘यो कदम भर्त्सनायोग्य छ। अलोकतान्त्रिक छ।’
त्यस्तै महराले प्रधानमन्त्रीको अनुदारवादी चरित्रका कारण लोकतन्त्रमै समस्या उत्पन्न भएको धारणा राखे। उनले असंवैधानिक रुपमा गरिएको विघटनलाई बदर गर्न कानुनी र राजनीतिक लडाई नै अहिलेको आवश्यकता भएको उल्लेख गरे।
अर्की सभामुख घर्तीले पनि प्रतिनिधिसभा विघटत असंवैधानिक भएकाले जन निर्वाचित संस्थाको इज्जत राख्नुपर्ने बताइन्। उनीहरुबीच विघटन पछिको अवस्थामा कसरी अघि बढ्न सकिन्ने भन्नेबारे कुराकानी भएको छ।
सभामुख सापकोटाले यसअघि औपचारिक रुपमै संसद विघटनको विरोध जनाउँदै सांसदहरुको बहुमत र अल्पमतको परिक्षण गर्ने थलो राष्ट्रपति कार्यालय नभएको बताएका थिए। उनले संसदको अधिकारसमेत राष्ट्रपतिबाट हरण भएको बताउँदै आएका छन्।


























