काठमाडौ, जेठ ९ । नेकपा एमालेका युवा नेता जीवन राईले दल दर्ता गराएका छन्। राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको हो। उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी छ।
निर्वाचन आयोगका अनुसार नेकपा ९एकीकृत०को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन्।
माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ।
राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको बताएका छन्। अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ। संखुवासभाका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष हुँदा विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए।


























