चितवन, जेठ ६ । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को व्यवस्थापनमा सञ्चालित सिद्धिविनायक अक्सिजन ग्यास उद्योगको क्षमता वृद्धि गरिएको छ। गैँडाकोटमा रहेको उक्त उद्योगमा नयाँ मेसिन थप गरी क्षमता वृद्धि गरिएपछि अब दैनिक १६० सिलिण्डर अक्सिन थप उत्पादन हुने भएको हो।
अस्पतालका आवासीय निर्देशक डा.मनोहर प्रधानका अनुसार बुधबारबाट नयाँ उपकरण सञ्चालनमा आएको छ। उत्पादन शुक्रबारबाट शुरु हुनेछ। यसअघि उक्त उद्योगबाट दैनिक ४०० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो। नयाँ मेसिन थप गरिएसँगै अब दैनिक ५६० सिलिण्डर उत्पादन हुने छ। सो अस्पतालले दैनिक ३०० सिलिण्डर खपत गर्दछ। बाँकी अन्य अस्पतालका लागि प्रयोग गर्न सकिने छ।
प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले उद्योगलाई क्षमता वृद्धि गर्न सहजीकरण गरेसँगै नयाँ मेसिन जडान गरी उत्पादन बढाउन सकिएको बताए। यसले जिल्लामा कोभिड सङ्क्रमितको उपचारमा थप सहजता हुने उनको भनाइ छ। रासस


























