काठमाडौं, जेठ ३ । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ।
माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरिएको माओवादी स्थायी कमिटी सदस्य बर्षमान पुनले बताए।
बिपत सम्बन्धी घटना हेर्न गृह मन्त्रालयमा कानूनी व्यवस्थासहितको निकाय रहेको र स्वास्थ्य जोखिम सम्बन्धी निकायलाई पनि काम गर्न नदिएको भन्दै कानूनी हैसियत नभएको सीसीएमसीलाई खारेज गरिनुपर्ने माओवादीको ठहर रहेको उनले बताए।
पहिलो चरणको कोरोना महामारीपछि सरकारले आवश्यक तयारी गर्न नसकेको र प्रयाप्त समन्वय गर्न नसकेकाले अध्यक्ष प्रचण्डको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने पुनले बताए। त्यस्तै प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय सर्वपक्षीय संयन्त्र बनाएर कोरोनासंग जुध्न परिचालन गरिनुपर्ने बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए।
त्यस्तै माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा कोरोनासंग जुध्न बनाइएको कमिटी र अन्य नीति तथा अभियान शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने स्थायी कमिटी सदस्य पुनले बताए। बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने निर्णय गरेको छ।


























