चितवन, जेठ ३ । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ। दासढुङ्गामा औपचारिक कार्यक्रम नभए पनि उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको हो।
नेकपा (एमाले) जिल्ला कमिटीले बिहान भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा रहेको नेताद्वयको सालिकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ। कोभिड कहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेताहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताइन्। उनका अनुसार न्यून सङ्ख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धाञ्जलि व्यक्त गरिएको हो।
यसैगरी मदन भण्डारी फाउन्डेशनले पनि श्रद्धाञ्जलि व्यक्त गरेको छ। फाउन्डेशनका वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाल लगायतको उपस्थितिमा नेताद्वयको सालिकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारण गरिएको हो।
विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो। आश्रितको शव सोही दिन दासढुङ्गास्थित त्रिशूली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजिपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो।
फाउन्डेशनले दासढुङ्गा र गाजिपुरको विकासका लागि पहल गर्दै आएको छ। यी दुवै ठाउँलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न विभिन्न निर्माणका काम भइरहेका छन्। रासस


























