जेठ १ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ। शुक्रबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।
फेरान टोरेसले ह्याट्रिक गरेपछि सिटीले पुनरागमन जित निकालेको हो। खेलको २५ औं मिनेटमा इमिल क्राफ्थले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए। तर,३९ औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए।
४२ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा जोलिन्टनले गोल गर्दै न्युकासललाई २-२ को बराबरीमा फर्काए। ६२ औं मिनेटमा जोसेप विललकले गोल गर्दै न्युकासललाई ३-२ को अग्रता दिलाए। ६४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-३ को बराबरीमा ल्याए।
त्यसपछि खेलको ६६ औं मिनेटमा टोरेसले व्यक्तिगत तेस्रो गोल गर्दै सिटीलाई ४-३ को जित दिलाए। जितसँगै सिटीले ३६ खेलमा ८३ अंक जोडेको छ। यस अघि नै च्याम्पियन बनिसकेको सिटी शीर्ष स्थानमा रहेको छ। न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ। एजेन्सी


























