काठमाडौं, बैशाख ३० । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुमतको सरकार बनाउन दिएको समयसीमा सकिन केही घन्टामात्र बाँकी छँदा जनता समाजवादी दलका महन्थ ठाकुर पक्षीय सांसदहरु बिहीबार भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्।
सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडान लिएका महन्थ ठाकुरले आफ्नो पक्षका १६ सांसदहरुलाई भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्ट पुर्याएका हुन्।
रिसोर्टमा पुगेका एक सांसदले नाम उल्लेख नगर्ने गरी भने, ‘हामी अहिले यो रिसोर्टमा आइपुगेका छौँ, खाना खाँदै छौँ, अब छलफल गर्छौँ।’
राष्ट्रपतिले धारा ७६ (२) अनुसारको बहुमतको सरकारको दाबी गर्न दलहरुलाई दिएको वैशाख ३० गते बेलुकी ९ बजेसम्मको समयसीमा केही घन्टामा सकिँदै छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कम्मर कसेर लागेका छन्। यद्यपि जनता समाजवादी दल सरकार निर्माणमा महत्त्वपूर्ण कारक बनेको छ।


























