बैशाख ३० । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए फुटबलमा नयाँ रेकर्ड बनाएको खेलमा सासुओलोविरुद्ध युभेन्ट्सले सहज जित हात पारेको छ। बुधबार राति भएको खेलमा सासुओलोलाई तीन शुन्यले हराउने क्रममा रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन्।
रोनाल्डोले युभेन्टसका लागि कम खेलमा एक सय गोल पूरा गर्ने रेकर्ड बनाएका हुन्। युभेन्ट्सका लागि अरू दुई गोल राबियोट र पाउलो डिबालाले गरे। सासुओलोका लागि रास्पदोरीले एक गोल फर्काए।
रोनाल्डोले एक सय ३१औँ खेलमा एक सय गोल पूरा गरेका छन्। युभेन्टसमा अनुबन्ध भएको तीन सिजनमा नै उनले गोलको शतक पुरा गरे।
यसअघि युभेन्टसका लागि दुई खेलाडीले एक सय गोल पुरा गरेका थिए। जसमा ओमार सिभोरी र रोबेर्टो बाजियो थिए। उनीहरुले पाँच सिजनमा एक सय गोल पुरा गरेका थिए।
यसका साथै रोनाल्डोले तीन फरक क्लव र राष्ट्रिय टिमबाट एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनले खेलका म्यानचेस्टर युनाइटेड, रियल मड्रिडबाट पनि गोलको शतक बनाएका थिए। एजेन्सी


























