काठमाडौं, बैशाख २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक डाकेका छन्।
नयाँ सरकारको सम्भावित गठबन्धन समेत ठानिएका दुई दल, माओवादी केन्द्र र जसपाका नेतालाई देउवाले आफ्नै निवास बुढानिलकण्ठमा दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन्। बैठकमा नयाँ सरकार बनाउनबारे छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।
केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि उनलाई पदमुक्त गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको नयाँ सरकार गठनका लागि वैशाख ३० सम्मको समयसीमा दिएपछि तीन दल छलफलमा जुट्न लागेका हुन्।
कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमा नयाँ सरकार गठनका लागि अग्रसर भए पनि जसपाको महन्थ ठाकुर समूहले साथ नदिएसम्म सरकार बन्ने सम्भावना छैन।
ठाकुरले नयाँ सरकार बनाउने कसरतमा नलाग्ने घोषणासमेत गरिसकेका छन्। ओलीले विश्वासको मत लिँदा जसपाका १५ सांसदले कतै पनि मत नहाली तटस्थ बसेका थिए।


























