काठमाडौं, बैशाख २५ । जनता समाजवादी पार्टी (जसपा) का नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीले लिने विश्वासको मतका विषयमा आफूहरु तटस्थ रहने बताएका छन्।
देउवा निवास बुढानिलकण्ठमा आज भएको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले कतै पनि मत नदिने र तटस्थ बस्ने बताएका छन्।
छलफलका लागि आफ्नो निवासमा बोलाएका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन र नयाँ सरकार गठनका लागि आफूलाई साथ दिन आग्रह गरेका थिए।
देउवासँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जानकारी दिँदै नेता महतोले प्रधानमन्त्रीले भोलि लिने विश्वासको मतका सन्दर्भमा कुराकानी भएको बताए। उनले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आग्रह गरेको भन्दै आफूहरुले विश्वासको मतको पक्षमा नजाने विगतमा उठाएको मागको सम्बोन नभएको बताएका थिए।
अहिले आफ्नो पार्टीको एकतालाई पनि जोगाउन पनि यस विषयमा आफूहरु तटस्थ बस्ने महतोले बताए। उनले आजै शीर्ष नेताबीचको छलफलले आवश्यक रणनीति तयार पार्ने जानकारी दिए।


























