काठमाडौं, बैशाख २५ । संघीय संसद्का १९ जना सांसदलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। जसमध्ये प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक रहेको संसद् सचिवालयले जनाएको हो।
संसद् भवन नयाँ बानेश्वरमा बैशाख २२, २३ र २४ गते गरिएको स्वाव संकलनपछि यो संक्रमण देखिएको छ। शनिबार दिउँसोसम्म १ हजार २३४ जनाको रिपोर्ट आएको छ। जसमा संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आइसीसीका कर्मचारी तथा अन्य रहेका छन्।
संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, ससदीय मामिला पत्रकार लगायत १४१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको सचिवालयले जनाएको छ। २७ गते बस्ने प्रतिनिधि सभा बैठकको तयारी स्वरुप बिहीबारबाट यो परीक्षण थालिएको थियो। २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। रासस


























