हेटौंडा, बैशाख २४ । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्बर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन्। आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले एमालेको सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताले नेता मुखी नभई जनता मुखी हुनुपर्ने धारणा व्यक्त गरे।
गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड–१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पुर्याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने बताए।
यसैगरी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत पार्टीका साझा उम्मेदवार डा।खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताए। उनले प्रदेशको भूमिकालाई अझै जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनु पर्नेमा जोड दिंदै जनताको बृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न राजनीतिक दलहरुमा इमान्दारीको खाँचो औँल्याए।
यस्तै अर्का उम्मेदवार नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशन बमोजिम उम्मेदवारी दर्ता गरेको बताए। देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने उनले दृढता व्यक्त गरे।


























