गुल्मी, बैशाख २४ । गुल्मीको मुसीकोटमा बिहीबार बिहान चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मुसीकोट नगरपालिका–४, दजाकोटका उजिरबहादुर गाहा र भीमश्री गाहाको घरमा चट्याङ पर्दा सोही स्थानकी १८ वर्षीया करिस्मा गाहाको मृत्यु भएको हो।
उनको जिल्ला अस्पताल गुल्मीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम पाण्डेयले बताए। चट्याङ लागेर मुसीकोट–४, दजाकोटका ६३ वर्षीय उजुरसिंह गाहा, ६२ वर्षीया तथीकला गाहा, ३७ वर्षीय तुलबहादुर गाहा, ३२ वर्षीया जुनी गाहा, १४ वर्षीया मेलिना गाहा, ८ वर्षीय जोतिन गाहा, ३३ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योतिकला गाहा घाइते भएका छन्।
सबैलाई उपचारका लािग गुल्मी, तम्घासस्थित जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक परमेश्वर चौधरीको कमान्डमा टोली खटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


























