म्याग्दी, बैशाख २३ । दोस्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा आजदेखि निषेधाज्ञा गरेको छ। बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बेनी नगरपालिका क्षेत्रमा नौ दिन निषेधाज्ञा जारी गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको बताए। चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले कोरोना रोकथामका लागि निषेधाज्ञा गर्न सिफारिस गरेका थिए। म्याग्दीमा हाल १०२ सक्रिय सङ्क्रमित छन्। २३ सङ्क्रमित उपचारपछि निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ। वैशाख १९ गते सङ्कलन गरिएको ४२ वटा स्वाबको नमूना परीक्षण गर्दा मङ्गलबार २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बेनी नगरपालिकाको वडा नं ४ मा पर्ने सिङ्गा तातोपानी बजार पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ। सदरमुकाम बेनीका साथै ग्रामीण क्षेत्रमा पनि तीव्ररुपमा कोरोनाको सङ्क्रमण फैलिएको छ।
निषेधाज्ञामा औषधि उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्नेजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिँडडुल गर्न पाउने छैनन्।
अस्पताल, औषधालय, औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४सै घण्टा खुल्नेछन्। तरकारी, फलफूल, डेरीजन्य उत्पादन, ग्यासलगायतका अत्यावश्यक सेवाका पसल स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।
यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका, वडा र सेवा केन्द्रका कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ। समुदायस्तरमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि गाउँपालिका, सातवटै वडा र विषयगत सेवा कार्यालयको अतिआवश्यकबाहेकका सेवा बन्द गरिएको अध्यक्ष थमसरा पुनद्वारा बुधबार जारी भएको विज्ञप्तिमा उल्लेख छ।
धवलागिरिको ताकम र लुलाङ कोरोनाको हटस्पट बनेको अध्यक्ष थमसरा पुनले बताए। हाल छ जना सङ्क्रमित गाउँमै होमआइसोलेशनमा छन्। तीन सङ्क्रमित बेनीमा छन्। बुधबार ताकममा एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
गाउँपालिकाले बैशाख १४ गतेदेखि नै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गराएको छ। मेला, जात्रा, पूजापाठ र भीडभाडजन्य क्रियाकलाप बन्द गरिएको छ। स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी कोरोना नियन्त्रणमा सहयोग गर्न अध्यक्ष पुनले पालिकावासीलाई अपिल गरेका छन्। रासस


























