काठमाडौं, बैशाख २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। ललितपुरको हात्तीवनमा तीन नेताबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेका बेलामा भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ। मंगलबार यी तीन नेताले कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।
ओलीले यही २७ गते लिन लागेको विश्वासको मत असफल बनाउनका लागि विपक्षी मोर्चा लागिरहेका छन्। ओलीविरुद्धको मोर्चामा नेता नेपालसमेत लागेपछि ओलीलाई चुनौति थपिएको छ। नेता नेपाल समूहले ओलीलाई असफल पार्नको लागि भएपनि आफ्नो पक्षका सांसदहरुले सामूहिक राजीनामा गर्नेबारेमा छलफल चलाइरहेका छन्।
कांग्रेस, माओवादी र जसपा मिलेर नयाँ सरकार बनाउने प्रयास भएपनि जसपामा देखिएको फरक मतले त्यो सफल हुन सकेन। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छ। ओली सरकार अहिले अल्पमतमा छ।


























