बैशाख १९ । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जित निकालेको छ। शनिबार राति भएको खेलमा इन्टरले क्रोटोनलाई २-० गोल अन्तरले पराजित गरेको हो।
क्रोटोनको मैदानमा इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा एरिक्सनले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा हाकिमीले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए।
यस जितसँगै इन्टर सिरी ‘ए’ को उपाधि नजिक पुगेको छ। इन्टरले सन् २०१० पछि सिरी ‘ए’ को उपाधि जित्न सकेको छैन। यस जितपछि इन्टरले दोस्रो स्थानको एटलान्टामाथि १४ अंकको अग्रता बनाएको छ।
अब एट्लान्टाले अंक गुमाएको खण्डमा इन्टर च्याम्पियन बन्नेछ। इन्टरले ३४ खेलमा ८२ अंक जोडेको छ। क्रोटोन १८ अंक जोडेर पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























