बैशाख १९ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। चेन्नईले दिएको २१९ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। मुम्बईका लागि केरन पोलार्डले ३४ बलमा अविजित ८७ रन बनाएर मुम्बईलाई जित दिलाएका थिए।
पोलार्डले यस सिजनको आइपिएलको कम बलको अर्धशतक समेत बनाएका थिए। ८७ रन बनाउँदा ६ चौका र ८ छक्का प्रहार गरेका पोलार्डले १७ बलमा अर्धशतक पुरा गरेका थिए।
मुम्बई इण्डियन्सले आइपिएलको इतिहासमै पहिलो पटक २ सय भन्दा बढी रन चेज गरेको हो। यसअघि मुम्बईले सर्बाधिक १९९ रनको लक्ष्य चेज गरेको थियो। त्यस्तै मुम्बईका लागि क्वेंटन डिककले ३८ रन बनाए भने कप्तान रोहित शर्माले ३५ रन, कृनल पाण्डेले ३२ रन र हार्दिक पाण्डेयले ७ बलमा १६ रन बनाएका थिए।
चेन्नईका बलर साम कुरानले ३ विकेट लिएका थिए भने श्रदुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एक विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै २१८ रन बनाएको थियो।
चेन्नईका लागि अम्बाती रायाडूले सर्बाधिक अविजित २७ बलमा ७२ रन बनाएका थिए। रायडूले २७ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाएका थिए।
त्यस्तै मोइन अलीले ३६ बलमा ५८ रन बनाए भने फाफ डुप्लेसिसले २८ बलमा ५० रन बनाए। त्यस्तै रविन्द्र जडेजाले २२ रन बनाए भने सुरेश रैनाले २ र रुतुराज गायकवाडले ४ रन बनाए। त्यस्तै मुम्बईका बलर किरोन पोलार्डले २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले एक एक विकेट लिए।
यो जितपछि मुम्बई इण्डियन्सले आफ्नो ७ खेलमा चौथो जित हासिल गरेको छ र मुम्बई अंक तालिकामा चौथो स्थानमा रहेको छ। त्यस्तै चेन्नईको भने ७ खेलमा ५ जित र दोस्रो हारसहित शिर्ष स्थानमा कायम रहेको छ। त्यस्तै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर पनि १०/१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्। एजेन्सी


























