काठमाडौं, बैशाख १६ । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बसेको भनेर गरिएको प्रचार निराधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे प्रष्ट पार्दै कतिपय सञ्चारमाध्यमले नियोजित रुपमा तथ्यहीन सूचना सम्प्रेषण गरेर भ्रम फैलाएको बताएका छन्।
थापाले भनेका छन्, ‘भेरिफाइ नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सबैको ध्यानाकर्षण गर्न चाहान्छु। मिडियाका आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा खेदजनक छ ‘।
एमालेका केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कतिपयले प्रधानमन्त्री आइसोलेसनमा बसेको सम्प्रेषण गरेका थिए। प्रधानमन्त्री आइसोलेसनमा नरहेको प्रमाण सार्वजनिक गर्दै मुख्य सल्लाहकार विष्णु रिमालले भेटघाटमै रहेको तस्बिर सार्वजनिक गरेका छन्।
Facebook Comments


























