मस्को, बैशाख १५ । कोरोनाभाइरसको दोस्रो लहरसँग लडिरहेको भारतमा कोभिड–१९ विरूद्धको रूसी खोप स्पुत्निक–भी मे १ सम्म पुग्ने भएको छ। यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ।
रूसी प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) का कार्यकारी अधिकृत किरिल दिमित्रीभका अनुसार कम्पनीले खोपलाई सकेसम्म छिटो भारत पुर्याउने गरी तयारी भएको छ।
दिमित्रीभले सीएनएनसँगको अन्तर्वार्तामा भने, “स्पुत्निकको पहिलो मात्रा खोप मे १ सम्म नयाँ दिल्ली पुग्नेछ साथै भारत स्पुतनिक–भी का प्रमुख उत्पादकहरूमध्ये एक हुनेछ।’
भारतीय चिकित्सकहरूले खोपको छिटो पहुँच होस् भन्ने चाहेका पनि उनले बताए।
“स्पुतनिक खोपको राम्रो अध्ययन र धेरै राम्रो ‘ब्याकअप’ छ, त्यसैले म आशा गर्छु कि हामीसँग यो खोप पनि यथासक्दो चाँडो आउनेछ,” रूसी समाचार संस्था तासले नयाँ दिल्लीको सुपर स्पेशलिटी अस्पतालका वरिष्ठ चिकित्सक संदीपनेयरलाई उद्धृत गरी लेखेको छ।
हाल भारतले एस्ट्राजेनेका र युनिभर्सिटी अफ अक्सफोर्डले बनाएको कोभिशिल्ड र भारतको बायोटेकले बनाएको कोभ्याक्सिन गरी कोरोना भाईरसका दुई खोपलाई प्रयोग गरिरहेको छ।
रूसले स्पुत्निक भीलाई विश्वको सबैभन्दा पहिले मान्यताप्राप्त कोरोनाभाइरस खोपका रूपमा दर्ता गरेको थियो। उसले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको छ। यो खोप विश्वभरिका विभिन्न ६० देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमोदित भएको छ।
द ल्यान्सेटमा प्रकाशित परीक्षणको एक अन्तरिम विश्लेषणका अनुसार खोपको ९१.६ प्रतिशत प्रभावकारिता छ। एएनआई


























