नयाँ दिल्ली, बैशाख १५ । भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन आयात गर्ने भएको छ। कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक भएपछि चुलिएको अक्सिजन अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट आयात गर्ने भएको हो।
दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ। अक्सिजन मगाइएको ट्याङ्कर आज दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए।
मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गरेका छन्। केन्द्र सरकारले एयरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उनको भनाइ छ।
दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने बताए। ल्याइएको २१ वटा अक्सिजन प्लान्टलाई दिल्लीको विभिन्न अस्पतालमा लगाइने उनले बताए।
भारतमा दैनिक तीन लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएपछि अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक भएपछि त्यहाँ अक्सिजनको अभाव भइरहेको छ। अक्सिजनको अभावमा त्यहाँ दैनिक सैयौंले ज्यान गुमाइरहेका स्थानीय समाचार माध्यमहरूले बताएका छन्। सिन्ह्वा


























