बैशाख १५ । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको रोमान्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो।
अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो।
कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन्। कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए। हिटमायरले अविजित ५३ रन जोडे।
यस्तै मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए। बैंगलोरका हर्सल पटेलले २ विकेट लिए। मोहमद सिराज र केली जेमिसनले १/१ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै रजत पाटीदरले ३१ रन जोड्दा ग्लेन म्याक्स्वेलले २५ रन जोडे। कप्तान विराट कोहली १२ रनमा आउट हुँदा देबदुत पडिकलले १७ रन बनाए। दिल्लीका इशान्त शर्मा,कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १/१ विकेट लिए। जितसँगै शीर्ष स्थानमा उक्लिएको बैंगलोरले लिगमा पाँचौं जित निकालेको छ। बैंगलोरले ६ खेलमा १० अंक जोडेको छ। दिल्ली ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। एजेन्सी


























