काठमाडौं, बैशाख १३ । त्रिभुवन विश्वविद्यालयले पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै त्रिवि आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको परीक्षा स्थगित गरेको जानकारी दिएका हुन्।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले वार्षिक तथा समेस्टर प्रणालीका स्नातक, स्नातकोत्तर तहका सञ्चालित र सञ्चालन हुने प्रक्रियामा रहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। अर्को सूचना जारी नभएसम्मका परीक्षा रोकिएको जनाइएको छ।
दोस्रो लहरको कोरोना संक्रमण फैलिँदै गएपछि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। यस्तै, विद्यालय तथा शिक्षालयहरुलाई भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न निर्देशन दिइएको छ।


























