चितवन, बैशाख १३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएकाछन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिए। उनले भने “आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ।”
उनले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पारे। उनले भने “विधि र प्रक्रिया पुर्याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो।” तत्काल सरकार बन्दाबन्दीका पक्षमा नरहेको जनाउँदै उनले थपे “बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन। स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुपर्यो।” परिस्थिति खतरा भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो। मन्त्री श्रेष्ठले भने, “सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ।” हामी सबै मिलेर समाधानको बाटातिर जानाको विकल्प नरहेको उनले बताए। निराश भएर नआत्तिन अनुरोध गर्दै उनले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुपर्छ भने। रासस


























