काठमाडौं, बैशाख १३ । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ। ललितपुर र चितवनबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने योजनामा हुनेछ। उद्घाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १-० ले स्तब्ध भएको थियो। काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरेका थिए।
यता, चितवन भने प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। जसका लागि चितवन ललितपुरलाई पराजित गर्न चाहन्छ। राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको कप्तानीमा चितवन मैदान उत्रने छ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल २५ खेल हुनेछ।


























