काठमाडौं, बैशाख १२ । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
विराटनगर र धनगढीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ। किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको लक्ष्यमा हुनेछ।
यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ। पोखरा र लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। पोखरा अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ। बुटवलको कप्तानी विशाल श्रेष्ठले गर्ने छन्।
प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी सुरुवात गरिसकेको छ। शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो।


























