बैशाख १० । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जित निकालेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे। एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक एक गोल थपे। बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो। गेटाफेका इनेस उनलले एक गोल फर्काए। एक गोल आत्मघाती उपहार पाएको थियो।
खेलको आठौं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको १२ औं मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेग्लेटले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरी भयो।
२८ औं मिनेटमा गेटाफेका सोफियन चक्लाले आत्मघाती गोल गर्दा बार्सिलोनाले २-१ को अग्रता बनायो। खेलको ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ को अग्रता दिलाए। ६९ औं मिनेटमा गेटाफेका इनेसले पेनाल्टीमा गोल गर्दा खेल ३-२ को स्थितिमा आयो।
खेलको ८७ औं मिनेटमा रोनाल्डले गोल गर्दा बार्सिलोना ४-२ ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५-२ को जित दिलाए।
जितसँगै बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोडेको छ। बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ। गेटाफे ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ। एजेन्सी


























