काठमाडौं, बैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनविरोधी शक्तिहरूको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको बताएका छन्।
आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशको आर्थिक विकास, समृद्धि, समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका लागि प्रतिगमनविरोधी शक्तिहरूको ऐक्यबद्धता आवश्यकता रहेको बताएका हुन्।
‘तत्कालीन सोभियत संघलाई एकतावद्ध गर्न महान् लेनिनले खेल्नुभएको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्दछ,’ सन्देशमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ। ’
विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृत्तिका रूपमा मूलप्रवाहबाट बाहिरिने गरेको भन्दै उनले पछिल्लो कडीका रूपमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको बताए।
‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ,’ उनले भनेका छन्, ‘पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरू र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामबद्ध हुन हार्दिक अपील गर्दछ।’


























