काठमाडौं, बैशाख ७ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ। टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो।
नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। नेदरल्यान्ड्सको जितका लागि बेन कुपर र बास डे लिड नायक बने। कुपर र लिडले अर्धशतकीय इनिङ्स खेले।
कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३५ बलमा १० चौका प्रहार गरे। कुपरलाई सन्दीप लामिछानेले गरेको १३ औं ओभरको पाँचौ बलमा दिपेन्द्र सिंह ऐरीले लङअनमा क्याच गर्दै पेभिलियन फर्काएका थिए। कुपरले लिडसँग ६८ रनको साझेदारी गरेका थिए।
नेदरल्यान्ड्सले म्याक्स ओ डाउडलाई पहिलो विकेट दोस्रो ओभरको तेस्रो बलमा नै गुमाएको थियो। डाउडलाई सन्दीपले दोस्रो ओभरको तेस्रो बलमा एलबीडब्लु धरापमा पारेका थिए। उनी ९ रनमा आउट भए।
दोस्रो विकेटको रुपमा टोवियस विसे पेभिलियन फर्किए। उनी सन्दीपले गरेको छैटौ ओभरको तेस्रो बलमा विकेटकीपर विनोद भण्डारीले स्टम्पिङ आउट गरेका थिए।
नेदरल्यान्डको चौथो विकेटको रुपमा आर्यन दत्त शुन्य रनमा पेभिलियन फर्किए। त्यस्तै कप्तान पिटर सिलारले ३१ रनको योगदान दिए। उनले १५ बलमा १ चौका र ३ छक्का प्रहार गरे। लिडले ८१ रनको अविजित इनिङ्स खेले। उनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८१ रनको इनिङ्स खेलेका हुन्।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ४८ रन खर्चेर चार विकेट लिएका हुन्। त्यस्तै करण कसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो। टी(ट्वान्टी अन्तराष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो।
नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले। दुबैले ७८ रनको साझेदारी गरे। ओपनर कुशलले ४६ बलमा ८ चौका र एक छक्काको मद्दतमा ६२ रनको योगदान दिए।
नेदरल्यान्ड्सलेविरुद्ध नै टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका कुशलको यो लगातार तेस्रो अर्धशतक हो। यस अर्धशतकसँगै उनी टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्युसँगै लगातार तीन अर्धशतक बनाउने विश्वका पहिलो खेलाडी बनेका छन्।
यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध डेब्यु खेलमा ६२ र मलेसियासँग आफ्नो करियरको दोस्रो खेलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। त्यस्तै दिपेन्द्रले ६० रनको योगदान दिए। उनले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गरे। उनी पिटर सिलारको बलमा टोविया भिसीको हातबाट क्याच आउट हुन पुगे।
नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ सेखलाई शुन्य रनमा गुमाएको थियो। उनी विविअन किंगमाको बलमा लामो सट खेल्ने चक्करमा लङअनमा रहेका बेन कुपरले क्याच गर्दै पेभिलियन फर्किएका थिए।
नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो। उनी पिटर सिलारले गरेको सातौ ओभरको अन्तिम बलमा कुपरले क्याच गर्दै मल्ललाई पेभिलियन फर्काएका थिए। उनले १४ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २० रनको योगदान दिए।
पाँचौ विकेटको रुपमा कुशल मल्ल पेभिलियन फर्किए। उनी आर्यन दत्तको बलमा मीकेरेनले क्याच गरेका थिए। कुशलले ७ बलमा ३ छक्कासहित १८ रनको योगदान दिए।
छैटौं विकेटको रुपमा करण केसी एक रनमा आउट भए। सोमपाल कामी २१ रनमा अविजित रहे। उनले १३ बलमा १ चौका र एक छक्का प्रहार गरे। त्यस्तै विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारी ७ रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि पिटर सिलार र विविअन किङ्गमाले समान २/२ विकेट लिए। त्यस्तै बास दे लीड, आर्यन दत्तले १/१ विकेट लिए।
यस जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ। पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।
यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ४ अंक जोडेको छ। नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ। नेपालको यो पहिलो हार हो। नेपालले ३ खेलमा ४ अंक जोडेको छ। नेपाल शीर्ष स्थानमा रहेको छ। २ खेलमा अंक विहीन मलेसिया पुछारमा रहेको छ। राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।


























