मोरङ, बैशाख ५ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री राईले सम्बोधन गर्ने उनका राजनीतिक सल्लाहकार रामकुमार बस्नेतले जानकारी दिए।
राईले सम्बोधन गरेर अहिलेसम्म भए गरेका कामबारे सभालाई जानकारी गराउने छन्। मुख्यमन्त्री राईको सम्बोधनपछि हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ।
तर विपक्षी दलहरूले आजको बैठक पनि चल्न नदिने अडान लिएका छन्। आफूहरूले राखेको माग पूरा नभएसम्म सभा चल्न नदिने नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
प्रतिपक्षी दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सञ्चालन गर्नुपर्ने माग राखेर बैठक अवरूद्ध गर्दै आएका छन्। प्रदेश १ को हिउँदे अधिवशेन गत माघ ७ गते शुरू भएको थियो। यस अवधिमा प्रदेशसभा बैठक सात पटक मात्र बसेको छ।

























